इलाम, १७ कात्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने ती प्रदेशका पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
यसैगरी, बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



