झापा, १९ कात्तिक । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’को प्रचारप्रसार तीव्र बनाइएको छ । प्रचार अभियानकै क्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन् ।
चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अभिनेता जितु नेपालले चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त भएसँगै चलचित्रसँग जोडिएका विवादित विषयको धेरै हदसम्म सम्बोधन भएको बताएका छन् ।

सेन्सरका क्रममा विज्ञ टोलीले चलचित्रको प्रशंसा गर्दै सबैले हेर्न मिल्ने प्रमाणपत्र दिएको उल्लेख गर्दै उनले दोस्रो ट्रेलरले पनि चलचित्रको विषयवस्तुबारे धेरै कुरा स्पष्ट पारिसकेको बताए ।
धार्मिक आस्थाप्रति आफूहरू सचेत रहेको बताउँदै जितुले चलचित्र नहेरी विवादका आधारमा धारणा नबनाउन दर्शकलाई आग्रह गरे । ‘पूरा चलचित्र हेरिसकेपछि दर्शकलाई यो कुनै विवादको विषय नै होइन भन्ने लाग्छ,’ उनले भने ।
चलचित्रको अधिकांश छायांकन झापा र इलाममा गरिएको जानकारी दिँदै उनले पूर्वका दर्शकबाट चलचित्रलाई राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे ।
अभिनेता आर्यन सिग्देलले आफ्नो अभिनय यात्राको सुरुवाती चरणमा पूर्वका दर्शकबाट पाएको माया र साथ स्मरण गरे । पूर्वका दर्शकको मायाले धेरै कलाकारलाई स्थापित गराएको उनको भनाइ थियो ।
पछिल्लो समय फरक–फरक पात्रमा अभिनय गर्ने आफ्नो चाहना पूरा हुँदै गएको बताउँदै आर्यनले ‘पाँच पाण्डव’को अवधारणा र पात्रबारे सुनेपछि नै चलचित्रमा काम गर्ने निर्णय गरेको बताए । चलचित्रमा एक्सन, रोमान्स र कमेडीलगायत मनोरञ्जनका विविध पक्ष समेटिएको उनले जानकारी दिए ।
चलचित्रसँग जोडिएको विवादबारे प्रतिक्रिया दिँदै उनले प्रदर्शनअघि नै पूर्वानुमानका आधारमा धारणा बनाउनुभन्दा चलचित्र हेरेर प्रतिक्रिया दिनु उचित हुने बताए ।
अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’का रूपमा प्रस्तुत गर्दै क्यासिनोमा नचाइएको विषयले सिर्जना गरेको विवादबारे आर्यनले चलचित्र वास्तविक महाभारतको कथा नभएको स्पष्ट पारे । ‘पहिलो कुरा, यो रियल महाभारतको कथा होइन, यो पाँच पाण्डवको कथा हो । त्यसैले कुनै पात्र द्रौपदीजस्तो लाग्नु स्वाभाविक हो, तर चलचित्रमा त्यस्तो छैन,’ उनले भने ।
निर्माण पक्षका अनुसार चलचित्रमा युधिष्ठिर पात्र आफ्ना भाइहरूको खोजीमा निस्किएको कथावस्तु प्रस्तुत गरिएको छ । यात्राका क्रममा विभिन्न पात्रलाई आफ्नै भाइ सम्झिने अवस्थामार्फत दाजुभाइबीचको सम्बन्ध र वर्तमान समाजमा देखिएका विविध समस्यालाई चलचित्रले उठान गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल झापाकी उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा चलचित्र टिमका समीर नेपाल, पिज्जा घरका सञ्चालक तथा कलाकार याम खरेललगायतको उपस्थिति थियो ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।
नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा कालीरानी श्रेष्ठको लगानी छ । चलचित्रको लेखन सुशील पौडेल, छायांकन श्याम तामाङ तथा सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।



