
बनियानी, १ मङ्सिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले मुलुक परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
झापाको कुमरखोदमा मुस्लिम समाज, झापा गाउँपालिकाले आज आयोजना गरेको ‘मुस्लिम उत्थान तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि मुस्लिम समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
‘देश परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘तर, उनीहरु राज्यको मूलधारमा आउन सकेका छैनन्, मस्लिम समुदायको उत्थानबिना मुलुक समृद्धि बन्न सक्दैन ।’ सरकारले मुस्लिम समुदायको शैक्षिक, आर्थिक, राजनीतिक लगायत पक्षको सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो ।
प्रदेश नं. २ सरकारले समावेशीकरणका आधारमा प्रहरीमा महिला ५० प्रतिशत अनिवार्य र समानुपातिकतर्फ जनसंख्याको आधारमा सहभागिताका लागि कानून निर्माण गरेको बताउँदै मुख्यमन्त्री राउतले अन्य छ वटै प्रदेशमा सोही अनुरुप कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री राउतसहित मुस्लिम अगुवा नेताहरुलाई सम्मान गरिएको कार्यक्रममा पूर्वगृह राज्यमन्त्री रिजवन अन्सारी, पूर्व मन्त्री जाकिर हुसेन, सांसद हिराकुमार थापा, ताहिर अन्सारी, मुस्लिम अगुवा समिम अन्सारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


