
– राजेश ढुंगाना
वि.स.२०३७ मा भद्रपुरको चन्द्रगढीमा स्थापित लेखनाथ पुस्तकालयको नयाँ कार्यसमिति चयनक्रममा ‘संयोगले’ म उपाध्यक्ष बनेको छु । प्रारम्भदेखि नै यो पुस्तकालय एउटा निश्चित राजनीतिक विचार र दलसँग नजानिंदो पाराले अघोषित रुपमा आबद्ध भएजस्तो देखिंदै आएको हो । जब यसपटक अग्रजहरू नवराज घिमिरे र होम सुवेदी सरले ‘तपाईंले पुस्तकालयको एउटा कुनै महत्वपूर्ण पदमा बसेर सहयोग गर्नु प¥यो’ भन्नु भयो; तब मलाई लाग्यो… यो पुस्तकालयले एउटा निश्चित राजनीतिक घेराको अघोषित घेरा तोड्ने प्रस्थान बिन्दु हो, शायद । म कम्युनिष्ट नभएको जगजाहेर हुँदाहुँदै आएको यो प्रस्ताव सोचविचार गरेरै आएको हुनु पर्दछ भन्ने लागेर म यो निष्कर्षमा पुग्नु परेको हो ।
नवराज दाइले कुनै एउटा राजनीतिक दल त्यागेको एक दशक जति भइसकेको आफैंले बारम्बार दोहो¥याइसक्नु भएको परिप्रेक्ष्यमा उहाँका सम्बन्धमा केही भनिरहनै परेन । अर्का प्रस्तावक होम सुवेदी सर एउटा अमुक राजनीतिक आस्थावान रहनु भएकाले वर्तमानमा पनि कुरा त्यही नै होला भन्ने मेरो सोच शायद त्यति गलत नै नहोला । त्यसैले होम सरलाई मैले स्पष्ट भनें– ‘म २०४२ सालमै झापाको ठूलो मात्र होइन, २००७ सालको क्रान्तिताका नै स्थापित पूर्वी नेपालको एउटा ऐतिहासिक ‘भद्रपुर पुस्तकालय’को चार दशक अघि नै सभापति भइसकेको मान्छे । अब यो चालीस वर्षपछि आएर मलाई पुस्तकालयको कुनै पदीय हैसियतमा बसिरहनु त्यति आवश्यक पनि छैन । त्यसमाथि मुख्य पदमा बस्न मेरो व्यावहारिकताले दिने स्थिति छैन । र, त्यसपछिको कुनै पदमा बस्ने प्रस्ताव हो भने, मेरो टाउकोमा को हुन्छ, त्यो हेरेपछि निर्णय गर्ने छु ।’ र, होम सरलाई (विशेषतः होम सरलाई नै) भनें– ‘म पदमा बस्दा तपाईंलाई राजनीतिक रूपमा असहज होला । किनकि म कम्युनिष्ट नभएर जन्मँदै प्रजातन्त्रवादी हुँ ।’

मेरा दुबै कुरा सुनेपछि होम सरबाट पहिलो कुरामा ‘सभापति नवराजजीलाई बनाउँदा कस्तो होला ?’ भन्ने प्रश्न खस्न नपाउँदै मैले मञ्जुरी दिएँ । चार पटक पहिला नै अध्यक्ष भइसकेको मानिस, उहाँको नेतृत्वमा बस्न मलाई कुनै आपत्ति भएन ।
मेरो दोस्रो अर्थात् राजनीतिक गन्धको सवालमा सुवेदी सरले भन्नुभयो– ‘विगतमा भूल भएजस्तो अब हुने छैन । पुस्तकालयलाई एउटा निष्पक्ष र स्वतन्त्र साहित्यिक संस्थाकै रूपमा लग्नु पर्दछ ।’ मैले पत्याएँ, उपाध्यक्ष पदमा रहन मञ्जुर भएँ । र, मलाई लागेको छ– एउटा राजनीतिक विचारप्रति फरक मत राख्ने मलाई देखाउन राखिएको, राख्नका लागि राखिएको, थपना मात्र होइन होला । सुवेदी सरले ‘त्यसो होइन’ भन्ने वचन दिनुभएको छ ।
मैले यहाँ भन्नै पर्दछ– विगतमा पुस्तकालयबाट दिइने पुरस्कारहरू निश्चित विचारधारालाई मात्रमा सीमित गरिएको साहित्यिक क्षेत्रमा चर्चा नहुने गरेको थिएन । अधिकांश यस्तो भएको पनि देखिन्छ । अपवादमा पुस्तकालयबाट सम्मानित हुनेमा म मात्र एक्लो अपवाद हुँला– जसले पुस्तकालयको राजनीतिक गन्धसँग सहमति नराखेको होस् । यसलाई आलोचना नठानेर सुझाव मान्दा पुस्तकालयकै महत्व र गरिमामा पनि उचाइ प्राप्त हुने छ, पक्का पनि ।
अब फेरि पनि होम सुवेदी सर नै, जो मेरा प्रिय पनि हुनुहुन्छ, स्रष्टा छनोट समितिको संयोजक समेत हुनु भएको छ । अब पुरस्कार र सम्मानयोग्य व्यक्ति छनोट गर्दा एउटा अमुक राजनीतिक घेराभन्दा माथि उठेर चौडा छाती पार्नु हुने छ भन्ने कुरामा म र हामीहरूको अपेक्षा र विश्वास हो । जसका लागि म सहयोग गर्न उत्सुक र प्रतिबद्ध पनि छु ।
पुस्तकालयपछि यसै महिना म भद्रपुरबाट लामो समयदेखि प्रकाशित हुँदै आएको ‘साप्ताहिक समाचार’को अतिथि–सम्पादक बनेको छु, बनाइएको छु । विगत ४२÷४३ वर्षदेखि स्थानीयदेखि दर्जनौं राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा प्रतिनिधि, संवाददाता, अन्तरवार्ताकार, स्तम्भकार, समीक्षक, विश्लेषक र सम्पादक नै समेत रहिसकेको मलाई प्रकाशक÷सम्पादक राजबाबु शंकरले दिनुभएको यो सम्मानलाई मैले अति महत्वको ठान्दै ग्रहण गर्दा उहाँलाई धन्यवाद नदिनु मेरो कञ्जुस्याइँ हुने छ ।
यी दुबै संस्थासँग अब म प्रत्यक्ष र औपचारिक रुपमा संलग्न हुन पुगेको छु । पुस्तकालयलाई नवराज घिमिरे र होम सुवेदी सरको राजनीतिबाट टाढा राख्ने वचनबद्धतालाई ऊर्जा प्रदान गर्नु र ‘साप्ताहिक समाचार’को लोभलाग्दो स्वतन्त्र पत्रकारिताको यात्रामा थप टेवा दिनु मेरो प्राथमिकता हुने छ । बाँकी त दुबै संस्थाको लामो यात्राले, आफ्नो आगामी यात्रा तय गर्दै जाने नै छ ।
— (कवि तथा पत्रकार)

