इलाम, १ कात्तिक । आज सूर्योदय नगरपालिका वडा नम्बर ५ स्थित समालबुङ्ग माध्यमिक विद्यालयको ७९ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष श्री उर्गेन वम्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
उक्त अवसरमा वडा नं. ५ मा रहेका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी, बाल क्लबका सदस्यहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी शिक्षिका श्री इन्दिरा निरौला र विद्यार्थी प्रतिनिधि पलपसा गिरीले प्रस्तुत गरे भने कार्यक्रमको औचित्यबारे प्रधानाध्यापक श्री नरेन्द्र कुमार खत्रीले प्रकाश पार्नुभयो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा उत्कृष्ट विद्यार्थी श्रेया प्रधान, अरपिता लेप्चा, शोरमित लेप्चा र अश्न लिम्बूलाई सम्मान गरियो। त्यस्तै, जेहेन्दार विद्यार्थीको श्रेणीमा तुलसी तामाङ, अनिका लेप्चा, अंकित राई र उपस्ना रिजाललाई सम्मानित गरियो। उत्कृष्ट अभिभावकको रूपमा आइत सिंह लेप्चा र प्रेम कला लेप्चालाई सम्मान प्रदान गरियो।
कार्यक्रममा विविध सांस्कृतिक नृत्य, रेम वाक तथा विज्ञान प्रदर्शनी समेत प्रस्तुत गरियो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले मन्तव्य व्यक्त गर्दै विद्यालयको प्रगति र योगदानको प्रशंसा गरे। कार्यक्रमको सञ्चालन शिक्षक श्री राजेन्द्र ढुङ्गेल र सुस्मा सापकोटाले संयुक्त रूपमा गर्नुभयो। विद्यालयको दीर्घकालीन योगदान र समुदायको सहभागिताले यस उत्सवलाई सफल बनाएको छ।


