झापा, ६ असार । झापाको चन्द्रगढीमा अग्रज झापाली स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिका १० न. वडा कार्यालयको सभाहलमा वर्तमान साहित्य प्रतिष्ठानको आयोजना भएको एकल कविता वाचन कार्यक्रममा कवि बुढाथोकीले आफ्ना कविताहरु सुनाएर कार्यक्रमलाई साहित्यमय बनाउनुभएको थियो ।

आफ्ना कविता सुनाउनु अघि उहाँले ‘भद्रपुर मेरो साहित्यिक सिर्जनाको प्रेरणा–भूमि हो । भवानी घिमिरे, हीरा आकाश, नकुल काजी, चूडामणि रेग्मी जस्ता नामूद साहित्यिक हस्तीहरुको कर्मभूमि भद्रपुरमा आएर कविता सुनाउन पाउँदा मलाई गौरव महसूस भइरहेको छ’ भन्नुभएको थियो ।
अर्का स्रष्टा धनकुटे कान्छाले ३० को दशकदेखिका स्थापित कवि प्रकाशको व्यक्तित्व, कृतित्व, रचना शिल्प, लेखनका साथै सामुदायिक परोपकारी जीवन बारे चर्चा गर्नुभएको थियो । कवि प्रकाशका रचना राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र मानवताका पक्षमा समर्पित रहने गरेको उहाँले बताउनुभयो ।
वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षतामा भएको एकल कविता वाचन कार्यक्रममा भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा भद्रपुर नगर कला, साहित्य, संगीत प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल र लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यसमिति सदस्य गोपाल शिवाकोटीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव महेन्द्र कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा साहित्य सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो ।



