झापा, १७ कात्तिक । दक्षिणी युक्रेनको जापोरिजियामा सोमबार रुसले गरेको हवाई आक्रमणमा २४ जनाको मृत्यु भएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आक्रमण कोमिसुवाखा बस्तीमा गरिएको थियो। उक्त क्षेत्रमा रहेको एउटा विद्यालयमा राहत सामग्री वितरण केन्द्र सञ्चालन गरिएको थियो भने नजिकै आश्रयस्थलसमेत रहेको थियो।

जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा दुई राहतकर्मी र चार प्रहरीसमेत मारिएको जानकारी दिएका छन्।
यसअघि अक्टोबर २९ मा युक्रेनको तेस्रो ठूलो सहर डिनिप्रोस्थित रेलवे स्टेसनमा रुसले ड्रोन आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको थियो।
पछिल्लो समय रुसले युक्रेनका नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ। रिटेल चेन, रसद पूर्वाधार र आवासीय भवनलगायत संरचनामा आक्रमण बढाइएको युक्रेनी पक्षको भनाइ छ। गत महिना रुसी सेनाले ठूलो क्षति बेहोरेको र केही क्षेत्रमा आफ्नो नियन्त्रणसमेत गुमाएको अवधिपछि आक्रमण थप तीव्र भएको बताइएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार युक्रेनमा सेप्टेम्बर महिनामा नागरिक मृत्युको सङ्ख्या ८५ प्रतिशतले बढेको छ। सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता सेप्टेम्बरमा भएको नागरिक मृत्यु उक्त महिनाको सबैभन्दा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार उक्त महिना लामो दूरीका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मारिएकामध्ये आधाभन्दा बढी सर्वसाधारण थिए।



