झापा, १७ कात्तिक । बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार सोमबार बिहान ४ बजेसम्ममा चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरिसकेको थियो। यो चक्रवात गएराति करिब १ बजे नेल्लोर र नरसापुरको बीचबाट जमिनमा प्रवेश गरेको थियो।
चक्रवातका कारण आन्ध्र प्रदेशका तटीय क्षेत्रमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। प्रतिकूल मौसमका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ उडान रद्द गरिएका छन्। यस्तै, चेन्नई विमानस्थलका ११ उडान पनि रद्द भएका छन्।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतका पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन गरिएको छ। तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन्।
यसैगरी, ओडिसा सरकारले गंजम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
चक्रवातको प्रभाव मध्य प्रदेश, छत्तीसगढ, केरला, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्न सक्ने अनुमान गरिएको छ।
यसको नेपालमा पर्ने सम्भावित प्रभावबारे मौसम पूर्वानुमान महाशाखाले भने पछिल्लो अद्यावधिक जानकारी सार्वजनिक गरेको छैन। महाशाखाले गत आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’मा हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको जनाएको थियो।
महाशाखाले चक्रवातको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने पनि जनाएको छ।



