इलाम, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा (नासु) यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ।

आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिलाई आयोगले अनुसन्धानको आधार बनाएको थियो।
आयोगका अनुसार उक्त अवधिमा आचार्य र उनको एकाघरका परिवार तथा सगोलमा रहेका व्यक्तिहरूले छ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैध आय गरेको देखिएको छ। तर, सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
वैध आयको तुलनामा खर्च तथा लगानी अस्वाभाविक रूपमा बढी देखिएपछि नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित आयोगले भ्रष्टाचारको अभियोग लगाएको हो।
आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरेको छ। त्यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ की प्रभा बस्नेत र काठमाडौँको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यसैगरी, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा छुट्टै मुद्दासमेत दायर गरेको जनाएको छ।



