तनहुँ, १७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा घरभित्रै फेला परेको अजिङ्गरलाई प्रहरीले वन कार्यालयको सहयोगमा उद्धार गरेको छ।
स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र डिभिजन वन कार्यालयको संयुक्त टोलीले सोमबार साँझ उद्धार गरेको हो।

रानाको घरको धुरीमा अजिङ्गर रहेको सूचना इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो। सूचना पाएलगत्तै कोत्रे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यस्तै, डिभिजन वन कार्यालय तनहुँबाट सशस्त्र वनरक्षकसहितको टोली पनि उद्धारका लागि खटिएको थियो। प्रहरी र वन कार्यालयको संयुक्त टोलीले घरको धुरीमा रहेको अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार उद्धार गरिएको अजिङ्गर करिब दुई दशमलव पाँच मिटर लामो र १८ किलोग्राम तौलको छ। उद्धारपछि आवश्यक व्यवस्थापनका लागि अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँ पठाइएको प्रहरीले जनाएको छ।



