झापा, २ कार्तिक । आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विविध कार्यक्रमसहित धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो दिवस यस वर्ष पनि आयुर्वेदिक संस्थाहरू, अस्पतालहरू र विभिन्न संघसंस्थाहरूको आयोजनामा भव्य रूपमा मनाइएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथिमा धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आजको दिन विशेष मानिन्छ। वैदिक ग्रन्थअनुसार समुद्र मन्थनका क्रममा अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको विश्वास गरिन्छ।
काठमाडौँको नरदेवीस्थित आयुर्वेद क्याम्पसको स्थापना पश्चात नेपालमा औपचारिक रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। हाल कीर्तिपुरमा रहेको उक्त क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा छ। सन् २०५६ सालदेखि यो दिनलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो।
आजको दिन सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर लगायत निजी आयुर्वेद अस्पतालहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।
कोरोना र डेङ्गुजस्ता रोगहरूबाट बच्न रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिमा आयुर्वेदिक औषधिहरू प्रभावकारी देखिएको छ। विशेषगरी गुर्जो लगायतका जडीबुटीहरूको माग पछिल्लो समय तीव्र रूपमा बढेको छ। सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म वृद्धि भएको छ।


