ताप्लेजुङ, ३ कात्तिक । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्नमा व्यस्त छन्। मुख्य टिपाइ सिजन चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिने किसानहरू रात पनि भट्टिमै बस्न थालेका छन्।
फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईवस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् भने बाँकी सबै बगानमै बास बस्छन्। ‘अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जान्छ,’ उनले भने।
फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा त झन एक महिनादेखि बगानमै बसिरहेका छन्। दसैँ परिवारसहित बगानमै मनाएका उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन्। ‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ,’ ४० वर्षदेखि अलैँचीखेती गरिरहेका शेर्पाले बताए।
शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ। तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न अझै एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ। जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ चल्ने परम्परा छ।
हाल ताप्लेजुङका ९ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुँदै आएको छ। करिब ४,४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ।
अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ। आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिद बिक्री भइरहेको व्यवसायी कमल बरालले जानकारी दिए।


