जेरुसेलम, ७ कात्तिक । इजरायली र अमेरिकी वैज्ञानिकहरूको संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको छ। उक्त खोजले क्यान्सर, अल्जाइमर र एएलएस जस्ता गम्भीर रोगहरूको अध्ययनमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानको घोषणा जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयले गरेको हो।
हिब्रू विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोको क्वान्टिटेटिभ बायोसाइन्सेज इन्स्टिच्युट (क्युबिआई), द रकफेलर युनिभर्सिटी र अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका वैज्ञानिकहरू संलग्न उक्त टोलीले कोशिकाको न्युक्लियसमा हुने आणविक आवागमनलाई नियन्त्रित गर्ने संरचना—न्युक्लियर पोर कम्प्लेक्स (एनपिसी)—बारे नयाँ मोडेल प्रस्तुत गरेका छन्।
एनपिसीहरू मानव कपालको चौडाइको करिब पाँच सयौँ भाग बराबरका सूक्ष्म संरचना हुन्, जसले कोशिकाको केन्द्रकभित्र र बाहिर हुने सबै आणविक गतिविधि नियन्त्रित गर्छन्। वैज्ञानिकहरूले एनपिसीलाई अत्यन्त लचिलो प्रोटिन नेटवर्क र विशेष आणविक ‘पासपोर्ट’ प्रयोग गरेर अणुहरूको छनोटसहितको आवागमन नियन्त्रित गर्ने प्रणालीका रूपमा व्याख्या गरेका छन्।
हिब्रू विश्वविद्यालयका डा. बराक रवेहका अनुसार, “हाम्रो मोडेलले आजसम्मका कुनै पनि प्रविधिले प्रत्यक्ष रूपमा देख्न नसक्ने सूक्ष्म र तीव्र गतिविधिलाई कम्प्युटरमा अवलोकन गर्न सक्ने ‘भर्चुअल माइक्रोस्कोप’ का रूपमा काम गर्छ।” कम्प्युटर सिमुलेसनमार्फत वैज्ञानिकहरूले एनपिसीको क्षण–क्षणको सञ्चालन प्रक्रिया बुझ्न सफल भएका छन्।
एनपिसीको भित्री भागमा एफजी रिपिट्स भनिने प्रोटिन चेनहरूको घना र गतिशील संरचना हुन्छ, जसले भीडभाडयुक्त वातावरण सिर्जना गर्छ। यसले असम्बद्ध अणुहरूलाई रोक्ने र साना अणुहरूलाई सजिलै पार गर्न दिने काम गर्छ। ठूला अणुहरू भने विशेष आणविक पासपोर्ट—रिसेप्टर—सहित भएमा मात्र प्रवेश गर्न सक्छन्।
रकफेलर युनिभर्सिटीका प्राध्यापक माइकल राउटले यस प्रक्रियालाई ‘निरन्तर बदलिने आणविक नृत्य’को संज्ञा दिँदै भने, “एफजी चेनहरू सधैँ गतिशील हुन्छन्, जसले बेचैनीयुक्त वातावरण बनाउँछन्। केवल सही रिसेप्टरसहितका अणुहरू मात्र त्यस नृत्यमा प्रवेश गर्न सक्छन्।”
क्युबिआईका प्राध्यापक आन्द्रेज सालीले नयाँ मोडेलले एनपिसीको छनोट क्षमताबारे लामो समयदेखि रहेको वैज्ञानिक पहेली समाधान गरेको बताए। “यो खोजले औषधि र जैवप्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको छ,” उनले भने।
अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका प्राध्यापक डेभिड काउबर्नका अनुसार, “यो अध्ययनले एएलएस, अल्जाइमर र क्यान्सर जस्ता रोगहरूमा देखिने आणविक यातायातसम्बन्धी गडबडीहरू बुझ्नमा तुरुन्तै प्रभाव पार्नेछ।”
वैज्ञानिकहरूले यस खोजको व्यावहारिक प्रयोग पनि देखेका छन्। प्राप्त ज्ञानको आधारमा कोशिकाभित्र आणविक ट्राफिक नियन्त्रण गर्न सक्ने औषधि विकास वा एनपिसीको कार्यविधि नक्कल गर्ने सिन्थेटिक नानोपोर निर्माण सम्भव हुने विश्वास गरिएको छ। यसले उपचार पदार्थहरू सिधै न्युक्लियससम्म पु¥याउन सक्नेछ।
अनुसन्धानको विस्तृत विवरण प्रतिष्ठित वैज्ञानिक पत्रिका नेशनल एकेडेमी अफ साइन्सेस (PNAS) मा प्रकाशित गरिएको छ।


