झापा, ९ कात्तिक । मधेससहित मिथिला क्षेत्रका विभिन्न जिल्लामा श्रद्धा, निष्ठा र आत्मशुद्धिको प्रतीक छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि मनाइँदैछ। शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्वको आरम्भ गरेका बर्तालुहरू आज पञ्चमी तिथिमा ‘खरना’को तयारीमा जुटेका छन्।
बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार व्रत बस्ने परम्परा अनुसार, साँझ चन्द्रदर्शनपछि सक्खर, दूध र चामलको खिर माटाको नयाँ चुल्हो र भाँडामा पकाइन्छ। उक्त खिर केराको पातमा राखी कूलदेवता र छठी देवीलाई चढाइन्छ, अनि प्रसादस्वरूप बर्तालु र परिवारजनले ग्रहण गर्छन्। मिथिलामा यस विधिलाई ‘खरना’ भनिन्छ।
‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ विधि
छठ पर्वको पहिलो दिन बर्तालुहरूले आत्मशुद्धिका लागि उसिना चामल, लसुन–प्याज, कोदो, मुसुरो आदि परिकार त्याग गर्छन्। मैथिली भाषामा ‘अर्बा’ ९नउसिनिएको अन्न० खाने चलनलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ। ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकै दिनका परस्परसम्बद्ध विधि हुन्।
‘खरना’को आध्यात्मिक अर्थ
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार, ‘खरना’ विधिलाई स्वधर्म, आत्मसंरक्षण तथा पापको नाशको प्रतीकका रूपमा लिने गरिन्छ।
मुख्य अघ्र्य विधि भोलि
छठ पर्वको मुख्य विधि कात्तिक शुक्ल षष्ठीका दिन सम्पन्न गरिन्छ। बर्तालुहरू निराहार व्रत बसेर मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा स्नान गरी अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिन्छन्, जसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि पर्वको समापन हुन्छ। यसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
प्रसाद र परम्परा
छठ पर्वमा बनाइने ठकुवा, भुसुवा लगायतका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको पीठोबाट तयार गरिन्छ। यी परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने वा आफन्तकहाँ पुर्याउने मैथिल परम्परा छ। अघ्र्य दिने पूजा सामग्रीको तयारी र जलाशय घाटको सरसफाइलाई विशेष महत्व दिइन्छ।
साझा पर्वको रूपमा विस्तार
पहिले मधेसी मूलका हिन्दूहरूले मात्र मनाउने छठ पर्व अहिले पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामका साथ मनाउन थालेका छन्। रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले छठ पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको जानकारी दिनुभयो।


