
(आजको जेन जेड आन्दोलन सन्दर्भ :भोक कविता-२)
– देवेन्द्र किशोर ढुङगाना
गाउँमा चोर नेता आयो,
माथि झण्डा, भित्र धन्दा, मुखमा जनताको फण्डा,
हातमा माला,
मन मनमा ताला —
सत्ता नै छ प्यारा ।
भोकाले चुलो
निभाउँदै छ,
तर ऊ भने
सिंहदरबारको चुलोमा भात पकाउँदै छ ।

गाउँको रुख मरेको छ — रुख होइन,
विश्वास ढलेको छ,
आकाशमा धुवाँ
उठेको छ —
त्यो आगो होइन,
विद्रोह हो त्यो ।
तर नेता भन्छ —
“शान्त रहो,
हाम्रो पालो आउँदैछ”,
तर जनताको पालो कहिल्यै आउँदैन,
जसरी चन्द्रमाले पनि कहिल्यै धरती छोएन ।
यो देशमा आन्दोलनहरू
पुस्तकका शीर्षक बने,
भोकहरू कविताका पंक्तिहरू बने,
र नेताहरू?
नेताहरू भने
सधैं चोरका
पर्यायवाची बने ।
जेन जेडको एक हातमा मोबाइल छ,
अर्को हातमा मुठ्ठी,
उनीहरू ट्वीट गर्छन् — “हाम्रो पेट भोकै छ”,
फेसबुकमा लेख्छन् — “देश जल्दै छ”,
र सडकमा चिच्याउँछन्
“अब तिम्रो
नाटक चल्दैन,
पुरानो किताब जल्दैन!”
गाउँमा चोर नेता आयो
आफ्नो भाषणमा जनताको
स्वर्गको कथा सुनायो,
तर जनताको घरमा
स्वर्ग होइन,
भोक र ऋणको नर्क छ ।
उसको भाषणमा
क्रान्ति हुन्छ,
तर उसको बैंक खातामा भ्रष्टाचारको थुप्रो छ ।
आमा भन्छिन् —
“छोरा, अब पढेर
के गर्ने?”
छोरो भन्छ —
“म नेता बन्छु —
ताकि कहिल्यै भोकले नमरोस्।”
त्यो वाक्यले गाउँभरि बिजुलीको जस्तो
झट्का दिन्छ,
तर नेता भने हाँस्दै भन्छ “तिमी त योग्य छौ,
हाम्रो दलमा आऊ।”
भोकको आन्दोलन
सुरु भयो —
पहिलो नारा
: “भात होइन भने
न्याय देऊ।”
दोस्रो नारा :
“न्याय छैन भने सिंहदरबार घेर्न देऊ।”
तेस्रो नारा :
“अब चोर नेताको सरकार होइन,
जनताको सरकार देऊ।”
युवाहरू सडकमा उत्रिए,
जसको हातमा
किताब थियो,
अब ढुंगा छ,
जसको ओठमा
गीत थियो,
अब नारा छ,
र जसको आँखामा सपना थियो,
अब प्रतिरोधको
ज्वाला छ ।
गाउँमा चोर नेता आयो
तर योपटक
गाउँले मौन छैनन्,
उनीहरूले बुझेका छन्
लोकतन्त्र नामको जालमा माछा
जनतामात्र हो,
र काँडा नेताको गिद्धमुखमा छ ।
अब गाउँमा आवाज गुञ्जिन्छ —
“हामी डराउँदैनौं,
हामी बेचिँदैनौं,
हामी अब सत्ताको
भाँडो होइनौं!”
बुढा किसानको
ओठबाट आगो झर्छ,
आमाको आँशु
विद्रोहको नदी बन्छ,
र बालकको पेटको भोक बन्दुकको गोलीभन्दा तिखो नारा बन्छ ।
सहरका पत्रकारहरू लेख्दैछन् —
“यो जनताले हद गरे
, यो हिंसा हो”,
तर उनीहरू भुल्छन् —
भोक पनि
हिंसाकै रूप हो,
जब भात छैन, भाषणको स्वादले पेट भर्दैन ।
जेन जेडको क्रान्ति नेटबाट सडकमा उत्रिएको छ,
यो केवल माइकको
ध्वनि होइन,
यो पीढीको
आत्माको गर्जन हो ।
नेता त अझै ढोंगमा व्यस्त छन् —
“हामी परिवर्तन ल्याउँछौं” भन्छन्,
तर परिवर्तन अब तिनको हातमा होइन,
यो मुठ्ठीमा छ —
जसले अब “चोर!” भन्छ र हिचकिचाउँदैन ।
गाउँमा चोर नेता आयो,
तर अब गाउँमा डर छैन ।
छतमा युवाहरूको झण्डा फर्फराउँदै छ,
त्यो कुनै दलको होइन — जनताको झण्डा हो ।
गाउँको चोकमा भोकको संविधान लेखिँदैछ,
कलम-रगतको मसीले।
अब क्रान्ति
चुनावी नारा होइन,
यो जिब्रोमा होइन — जिब्रोको रगतमा लेखिएको छ ।
अब भोट होइन,
प्रतिरोध मागिन्छ,
अब पद होइन,
बराबरी मागिन्छ,
अब “नेता ” होइन, “साथी” भनिन्छ ।
गाउँमा चोर नेता आयो,
तर योपटक
उसले माला पाएन,
ढुंगा पायो ।
उसको भाषण रोकियो युवाको एक धक्काले,
“भोक देशको शत्रु हो,
र जो त्यसलाई
नदेख्ने नेता हो,
त्यो पनिदेशको शत्रु हो।”
र जब सूर्य अस्ताउँछ —
गाउँका पर्खालमा लेखिएको हुन्छ,
कालो कोइला र
रातो रगतले —
“अब हाम्रो देश
बिक्रीमा छैन,
अब हाम्रो पेट मौन छैन,
अब हामी जनताको नाममा चोर होइन,
जनताको नाममा
जनता उठेका छौं।”
भद्रपुर, झापा

