झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट स्थानीय राजेन्द्र ढकालको दुई तले घर र तीन कोठे टहरा जलेर पूर्ण रुपमा नष्ट हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिनुभयो । विद्युत् सर्ट भई शुक्रबार राति १० बजे ढकालको घरमा आगलागी भएको उहाँले बताउनुभयो ।
विद्युत् सर्ट भई आगलगी हुँदा ढकालको घर र घरभित्र रहेको सुन, चाँदी, नगद पैसा, लात्ताकपडा, भाडा वर्तन गरी रू ७० लाख, टहरामा चन्द्रप्रसाद नायकले सञ्चालन गरेको राहुल खुद्रा किराना पसलमा रहेको किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा रू ३० लाख र सोही टहरामा नायककी श्रीमती मिनु देवी नायकले सञ्चालन गरेको लक्ष्म भाडा पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा रू २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगो स्थानीयबासी, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, प्रस्तावित सीमा सुरक्षा टोली, गौरादह नगरपालिका, शिवसतासी नगरपालिका र कमल गाउँपालिकाको बारुण यन्त्रको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो ।


