इलाम, १५ कात्तिक । बिहीबारदेखि लगातार परेको वर्षाले मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रु प्रभावित भएका छन्। इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो हटाउने प्रयास जारी रहे पनि सडक भासिने क्रम नरोकिएकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ। “सडक खुलाउन हामी अहोरात्र खटिएका छौँ, तर भासिने क्रम रोकिएको छैन,” उहाँले जानकारी दिनुभयो।
राजमार्ग अवरुद्ध भएपछि झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा रोकिएका छन् भने झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने सवारी माईखोलामा अड्किएका छन्।
वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर ९केचना–कञ्चनजङ्गा सडक० पनि असोज १८ को बाढीले बेलासेस्थित माईखोलाको पुल भत्किएपछि बन्द भएको छ। त्यस्तै, तिल्केनी–सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति पुर्याएपछि इलामबाट झापा जाने यात्रु थप मर्कामा परेका छन्।
सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायले प्रयास गरिरहेको भए पनि मौसमले साथ नदिँदा समस्या समाधानमा ढिलाइ भइरहेको छ।


