भद्रपुर, १७ कात्तिक । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह (भद्रपुर–९) को आसन्न निर्वाचनलाई लिएर सञ्चारकर्मीप्रति गरिएको अभद्र टिप्पणीप्रति प्रेस क्लब–भद्रपुरले गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा निन्दा र भर्त्सना गरेको छ।
क्लबका अनुसार अध्यक्ष पदका उम्मेदवारहरूबारे पत्रकार द्रोण अधिकारीद्वारा लिखित समाचारलाई लिएर उम्मेदवार हीरा पोखरेलले फेसबुकमा टिप्पणी गरेका थिए। सोही टिप्पणीमा प्रतिक्रिया दिने क्रममा भद्रपुर–४ निवासी हेमलाल भट्टराईले समस्त सञ्चारकर्मीहरूलाई लाञ्छित गर्नेगरी अशोभनीय टिप्पणी गरेका थिए, जसप्रति क्लबको गम्भीर ध्यानाकर्षण भएको हो।

प्रेस क्लब–भद्रपुरले भट्टराईको टिप्पणीलाई मनगढन्ते र आक्षेपपूर्ण आरोपको संज्ञा दिँदै प्रमाणित गर्न चुनौति दिएको छ। यदि प्रमाणित गर्न नसकिएमा सार्वजनिक रूपमा माफी माग्दै उक्त टिप्पणी हटाउन आग्रह गरिएको छ। अन्यथा, क्लबले विधिसम्मत् उपचार खोज्ने चेतावनीसमेत दिएको छ।
क्लबले प्रकाशित समाचारप्रति असहमति वा असन्तुष्टि भएमा विधिसम्मत् प्रक्रिया अपनाउन सकिने स्पष्ट गर्दै पत्रकारिता पेशामाथि अनाहक बदनाम गर्ने गैरजिम्मेवार आचरण अब दोहोरिन नदिन सचेत गराएको छ। साथै, आगामी दिनमा सञ्चारकर्मीको मानमर्दन गर्ने कार्यमा संलग्न जोसुकैलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्ने जनाएको छ।
प्रेस क्लब–भद्रपुरका अध्यक्ष राजबाबु शंकर र महासचिव डिल्लीरमण नेपालद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।

