बिर्तामोड, १९ कात्तिक । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजित सामूहिक देउसीको मंगलबार एक कार्यक्रमका बीच आम्दानी र खर्च विवरण सार्वजनिक गरिएको छ ।
एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै आर्थिक पारदर्शिताका लागि विवरण प्रस्तुत गरिएको बताउनुभयो । देउसी भैलो कार्यक्रममा २ लाख एक हजार २७० रुपैयाँ आम्दानी गरी ५४ हजार १३० रुपैयाँ खर्च भएको र एक लाख ४७ हजार १४० रुपैयाँ बचत भएको छ । उक्त बचत रकम नगर पार्टी कमिटी कार्यालय व्यवस्थापन लगायतमा खर्च गरिने जनाइएको छ ।
देउसी कार्यक्रम सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर समिति र राष्ट्रिय जनसांस्कृतिक महासंघ बिर्तामाड नगरसमितिलाई सम्मान गरिएको छ । व्यवसायी समहासंघका अध्यक्ष युवराज निरौला र जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमकुमार खरेललाई सम्मान पत्र हस्तान्तरण गरिएको छ ।

बिर्तामोडको शान्ति व्यवस्थालाई कायम राख्न भूमिका खेल्ने युवाहरुको समूहलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । नगर कमिटीका सचिव अम्बिका लिङ्देनले सञ्चालन गरेको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अमृतलाल राजवंशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण सिवाकोटी, नेपाल उद्योग तथा व्यवसायी महासंघ झापाका अध्यक्ष पर्वत कार्की र राष्ट्रिय जनसांस्कृतिक महासंघ झापाका अध्यक्ष डा. कुमार सुवेदीले मन्तव्य राख्नु भएको थियो ।


