बिर्तामोड, २१ कात्तिक । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल कात्तिक १९ गते साँझ ७:२५ बजे बिर्तामोड नगरपालिका–१ स्थित अञ्जलि अस्पताल नजिकै कन्यामबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ निवासी ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि B&C अस्पताल लगिएको थियो। तर कात्तिक २१ गते दिउँसो ३:३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ।
मोटरसाइकल चालक सुनसरी जिल्ला दुहबी नगरपालिका–६ निवासी २० वर्षीय बसन्त माझीलाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


