झापा, २२ कात्तिक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन तीव्र गतिमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समय उत्साहजनक सहभागिता देखिएको छ।
आयोगले यही कात्तिक ३० गतेसम्म मात्र मतदाता नामावली संकलन हुने स्पष्ट गर्दै सो मितिसम्म अठार वर्ष उमेर पूरा गर्ने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई नाम दर्ता गराउन आग्रह गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भएको छ। सो निर्वाचनमा फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा गरेका दर्ता भएका मतदाताले मात्र मतदान गर्न पाउनेछन्।
अत्यधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा चाप बढ्दा सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आयोगमा आइरहेको छ। आयोगले सर्भरको क्षमता विस्तार गर्ने प्रयास गरिरहेको जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि विगतको अभ्यासअनुसार १६ वर्ष उमेर पूरा गरेका र नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था पुनः लागू हुने आयोगले स्पष्ट पारेको छ।


