झापा, २३ कात्तिक । जेन्जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, २०८२ साल भदौ २४ गते दिउँसो करिब ४ बजे दमक नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको प्रमाणसहित पाँचथर मिक्लाजुङ गाउँपालिका–५ स्थायी घर भई हाल दमक–१ बसोबास गर्दै आएका २१ वर्षीय साजन लुहागुनलाई पक्राउ गरिएको हो।
लुहागुनले प्रयोग गर्दै आएको TikTok खाताबाट प्रहरी कार्यालयमा आगो लगाउँदै गरेको, गोली बोकेको दृश्यसहितका भिडियो तथा तस्बिरहरू सार्वजनिक भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
मिति २०८२ कात्तिक २२ गते दिउँसो करिब २ बजे दमक नगरपालिका–५ बाट उनलाई पक्राउ गरिएको र भोलिपल्ट जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


