निशान निरौला
इलाम, १६ कात्तिक । इलाम प्रहरीले चाडपर्वलाई लक्षित गरी अवैध रूपमा ओसारपसार गरिँदै गरेका करिब एक लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका बरामद गरेको छ।
इलाम नगरपालिका–९ गोलाखर्कस्थित मेची राजमार्गमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरेको हो।

झापाबाट पाँचथरको राँकेतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७९१ नम्बरको सार्वजनिक विद्युतीय (ईभी) गाडी जाँच गर्ने क्रममा यात्रु बस्ने सिटमुनि बोरा तथा कार्टुनमा लुकाइछिपाइ राखिएका पटाका फेला परेका थिए।
प्रहरीका अनुसार उक्त गाडीबाट सुप्रिम पटाका, खोर्साने पटाका, चकलेट आलुबम, जगमग चकलेट पटाका, स्पिनर डिलक्स, क्र्याकटिङ, पप पप, फ्लावर पट्स, रेड तथा ग्रिन स्पाइरल झिरझिरे र गेम चेन्जरलगायत १२ प्रकारका पटाका बरामद गरिएको हो।
बरामद गरिएका पटाकाको अनुमानित बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
चाडपर्वका बेला पटाकाको प्रयोग तथा अवैध ओसारपसारले आगलागी, दुर्घटना र मानवीय क्षतिको जोखिम बढाउन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामले अवैध रूपमा पटाकाको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गर्न नागरिकलाई अनुरोध गरेको छ।



