सुनसरी, १६ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी लागूऔषध गाँजाको कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको समूहले प्रहरीलाई देखेपछि भाग्न खोजेको थियो। त्यसपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे र भारतको बिहार निवासी ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
प्रहरीले उनीहरूले प्रयोग गरेका गाडीबाट २०९ किलो ४२ ग्राम गाँजा बरामद गरेको छ। बरामद गाँजासहित पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



