झापा, १६ कात्तिक । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा झापाको बाह्रदशीमा अन्तरपार्टी मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ।
शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदानसहित एकदिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नेकपा एमाले बाह्रदशी गाउँ कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए।

राजनीतिक दलहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए। उनका अनुसार प्रतियोगिता आगामी कात्तिक २१ गते शनिबार बिहान १० बजेदेखि बाह्रदशी–३ राजगढस्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा बाह्रदशीमा क्रियाशील राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टी गरी ६ राजनीतिक दलका भेट्रान्स खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
उमेरले केही पाका भए पनि जोस, जाँगर र उत्साहले भरिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताबीच हुने मैत्रीपूर्ण खेल मनोरञ्जनात्मक र रोचक हुने आयोजकको अपेक्षा छ। प्रतियोगिता अवलोकनका लागि केन्द्र, जिल्ला तथा पालिका तहका नेता–कार्यकर्तालाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आयोजकले खेलसम्बन्धी विभिन्न नियमसमेत सार्वजनिक गरेको छ। खेल फिफाको नियमअनुसार सञ्चालन गरिने र प्रत्येक खेल १५–१५ मिनेटको हुने जनाइएको छ।
प्रतिटिम ३५ देखि ४० वर्ष उमेर समूहका दुई जना, ४० देखि ५० वर्ष उमेर समूहका चार जना र ५० वर्षभन्दा माथिका चार जना गरी १० जना खेलाडी अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। खेलाडीले आफू आबद्ध राजनीतिक दलको चुनाव चिह्न अंकित जर्सी लगाउनुपर्नेछ।
खेल मैत्रीपूर्ण भएकाले निर्णायकको निर्णयलाई अन्तिम निर्णयका रूपमा स्वीकार गर्नुपर्ने आयोजकले जनाएको छ। साथै, खेलाडीहरू पार्टीको जुनसुकै भूगोलमा कार्यरत भए पनि तथा जुनसुकै जिम्मेवारीमा रहे पनि प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताको खेल तालिका निर्धारण गर्न कात्तिक १८ गते बुधबार दिउँसो ४ बजे राजगढस्थित मिनी क्याफेमा गोलाप्रथा कार्यक्रम राखिएको छ। खेलका क्रममा गम्भीर प्रकृतिको चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने तथा अन्य नियम र निर्णय आपसी समझदारीमा तय गरिने आयोजकले जनाएको छ।
राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर आपसी सम्बन्ध, सद्भाव र सहकार्यलाई बलियो बनाउने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताले स्थानीय तहमा दलहरूबीच सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।



