सन्तोष शर्मा
झापा, १६ कात्तिक । नेपाली बजारमा फूलको माग बढ्दै गएपनि भारतीय फूलको आयात र उत्पादन लागतका कारण नेपाली फूल उत्पादक किसानले चुनौती सामना गर्नुपरेको छ । स्वदेशमै फूल उत्पादनको पर्याप्त सम्भावना रहे पनि सरकारी अनुदान, उत्पादन सामग्री र श्रम लागतमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली किसानलाई बजारमा टिकिरहन कठिन भइरहेको हो ।
झापा बुद्धशान्ति गाउँपालिका–३ का किसान विनोद राजवंशी भारतीय फूलको आयातका कारण स्वदेशी फूलले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको बताउनुहुन्छ । कृषि कम्पास फार्ममार्फत् व्यावासायिक खेती गर्दै आउनुभएका उहाँले यसपटक १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ ।

‘हालसम्म दुई पटक उत्पादन लिइसकिएको छ’, उहाँले भन्नुभयो, ‘तेस्रो पटकको उत्पादन लिने बेला भइसक्यो छ वर्षाका कारण केही समय टिपाइ रोकिएको छ, मौसम अनुकूल भएपछि तेस्रो पटक फूल टिप्ने तयारी छ ।’
नेपालमा फूलको खपत राम्रो भए पनि भारतबाट ठूलो परिमाणमा फूल भित्रिने क्रम नरोकिँदा नेपाली उत्पादनले उचित मूल्य पाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
फूल उत्पादक किसानका अनुसार भारतीय फूलको उत्पादन लागत तुलनात्मक रूपमा कम हुनु नेपाली किसानका लागि प्रमुख चुनौती हो । भारतमा बीउ, मल, कृषि सामग्री, श्रमिक तथा ढुवानी लगायत क्षेत्रमा सहुलियत र कम लागतको सुविधा उपलब्ध हुँदा त्यहाँका उत्पादकले तुलनात्मक रूपमा सस्तो मूल्यमा फूल बजारमा पठाउन सक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
नेपालमा भने उत्पादनका लागि आवश्यक सामग्री, श्रमिक, ढुवानी, भण्डारण र बजार व्यवस्थापनमा खर्च बढी हुने गरेको किसान बताउँछन् । यसले गर्दा नेपाली किसानले उत्पादन गरेको फूलको मूल्य भारतीय फूलसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ ।
‘हामीलाई उत्पादन गर्न नै बढी खर्च लाग्छ । लागत बढी भएपछि भारतीय फूलसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन । बजारमा सस्तो फूल उपलब्ध हुँदा उपभोक्ता र व्यापारीले त्यही रोज्ने सम्भावना बढी हुन्छ’, उहाँले भन्नुभयो, ‘स्वदेशी उत्पादन भनेर भावनात्मक रुपमा मात्र व्यापार गर्न सकिँदैन ।’
उहाँका अनुसार फूल उत्पादन गरेर मात्र पुग्दैन, त्यसलाई उचित मूल्यमा बिक्री गर्न सक्ने बजार पनि आवश्यक हुन्छ । लागत अनुसार मूल्य नपाउँदा किसानले लगानी उठाउन नसक्ने र आगामी सिजनमा खेती गर्ने कि नगर्ने भन्ने अन्योल उत्पन्न हुने गरेको छ ।
एउटा मालाको मूल्य १५०, प्रतिकिलो ५००
फूलखेतीमा बीउ, मल, श्रम, ढुवानी तथा भण्डारणलगायत खर्च जोडिने भएकाले लागतअनुसार मूल्य पाउनुपर्ने किसानको भनाइ छ । हाल किसानले एउटा फूलको मालाको मूल्य १५० रुपैयाँभन्दा कममा बिक्री गर्न नसकिने सम्बद्ध किसान बताउँछन् ।
यसपत्री फूल प्रतिकिलो ५०० रुपैयाँमा बिक्री गर्ने दररेट कायम गरिएको बताउनुहुँदै राजवंशीले भन्नुभयो, ‘फूललाई चिस्यान केन्द्रमा राख्दा प्रतिकिलो १५ रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । चिस्यान केन्द्रसम्म पु¥याउने ढुवानी, भण्डारणबाट निकाल्ने खर्च र बिक्री व्यवस्थापनमा लाग्ने जनशक्तिको लागतसमेत किसानले बेहोर्नुपर्ने हुन्छ ।’
बीचमा व्यापारी वा पसलमार्फत बिक्री गर्दा थप खर्च लाग्ने भएकाले उत्पादन लागतअनुसार मूल्य पाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।
माग राम्रो, खेती विस्तारको सम्भावना
किसानका अनुसार नेपाली फूलको बजारमा मागको कमी छैन । उत्पादन सीमित रहेकाले स्वदेशी उत्पादनले बजार पाउने सम्भावना राम्रो छ । तर, भारतीय फूलको आयात निरन्तर भइरहँदा नेपाली किसानले बजारमा आफ्नो स्थान बनाउन थप मेहनत गर्नुपरेको छ ।
नेपाली फूलको उत्पादन र उपभोग दुवैलाई प्रोत्साहन गर्न सके भविष्यमा फूलमा आत्मनिर्भर बन्न सकिने फूल खेतीमा आबद्ध किसानहरुको भनाइ छ । ‘आजैदेखि स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सकियो भने पाँचदेखि १० वर्षपछि धेरै हदसम्म आत्मनिर्भर बन्न सकिन्छ । किसानले उत्पादन गर्दा बजार र उचित मूल्यको सुनिश्चितता हुनुपर्छ’, किसान भन्छन्, ‘किसानले फूलखेतीबाट उचित आम्दानी गर्न सके खेती विस्तार गर्ने उत्साह बढ्नेछ । तर, उत्पादनको मूल्य नपाउने अवस्था रहेमा नयाँ किसान आकर्षित हुन कठिन हुने र अहिले खेती गरिरहेका किसानसमेत निरुत्साहित हुन सक्ने जोखिम छ ।’
झण्डै ५० किसान फूलखेतीमा
फूल उत्पादक किसानका अनुसार झापाका विभिन्न स्थानमा करिब ४० देखि ५० जना किसान फूलखेतीमा संलग्न रहेको अनुमान छ । झापाको बुद्धशान्ति, गौरादह, दमक, शिवसताक्षी, हल्दिबारी, मेचीनगर, गौरीगञ्जलगायत क्षेत्रमा सानो क्षेत्रफलदेखि ठूलो क्षेत्रफलसम्म फूलखेती भइरहेका छन् ।
कतिपय किसानले एक–दुई कठ्ठामा फूलखेती गरिरहेका छन् भने कतिपयले पाँच–१० कठ्ठा र केहीले एक बिघा वा सोभन्दा बढी जमिनमा समेत खेती गर्दै आएका छन् । तर, जिल्लामा फूलखेती गर्ने किसानको यकिन संख्या, उत्पादनको परिमाण र बजारको अवस्थाबारे एकीकृत तथ्याङ्क भने छैन ।
किसानलाई प्रोत्साहन र आयात व्यवस्थापन आवश्यक
फूलखेतीलाई व्यावसायिक र दिगो बनाउन उत्पादन लागत घटाउने, आवश्यक कृषि सामग्रीमा सहुलियत उपलब्ध गराउने, भण्डारण सुविधा विस्तार गर्ने तथा बजार व्यवस्थापन प्रभावकारी बनाउने नीति आवश्यक देखिन्छ ।
विशेषगरी स्वदेशी किसानले उत्पादन गरेको फूलको बिक्री सुनिश्चित गर्न सहकारी तथा किसान समूहलाई प्रोत्साहन, बजारसँग प्रत्यक्ष सम्पर्क र उपभोक्तालाई स्वदेशी फूल प्रयोग गर्न प्रेरित गर्ने कार्यक्रम उपयोगी हुन सक्छन् ।
फूलखेतीमा सम्भावना हुँदाहुँदै पनि लागत र बजारको अनिश्चितताका कारण किसान अन्योलमा छन् । स्वदेशी उत्पादनको संरक्षण, किसानमैत्री कृषि नीति र बजार व्यवस्थापनमा ध्यान दिन सके झापामा फूलखेती विस्तार हुनुका साथै आयातमा निर्भरता घटाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खेती विस्तार हुँदै
झापाका गत वर्ष करिब ५–७ बिघा क्षेत्रफलमा व्यावासायिक सयपत्री फूलखेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउनुहुन्छ । यस वर्ष उक्त क्षेत्रफल वृद्धि भइ झण्डै १६ बिघा पुगेको उहाँले बताउनुभयो ।
‘फूलखेती गर्ने किसानहरुलाई रोग–कीरा नियन्त्रणका लागि आवश्यक प्राविधिक सहयोग गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।’
हालसम्म सयपत्री फूलको बजारमा समस्या नदेखिएको उहाँ बताउनुहुन्छ । बजार भाउ पनि राम्रै भएको बताउनुहुँदै उहाँले भारतीय फूलले भने नेपाली फूललाई असर गरेको सुनाउनुभयो । पछिल्लो समय भारतबाट फूल आयातमा कडाइ गरिएकाले स्वदेशी फूल किसानलाई राहत मिलेको उहाँ बताउनुहुन्छ ।
विशेष गरी झापाको मेचीनगर, बिर्तामोड, दमक, बुद्धशान्ति, हल्दिबारी र शिवसताक्षीमा व्यावसायिक फूल खेती गर्ने क्रम बढेको छ ।



