निशान निरौला
झापा, ८ मंसीर । कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगरद्वारा विकास गरिएको ‘प्रगति प्रतिवेदन संकलन सफ्टवेयर’ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
नवीन रूपमा विकास गरिएको उक्त सफ्टवेयरमार्फत निर्देशनालय तथा मातहतका कार्यालयहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरणका साथै कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न तथ्यांकहरू छिटो, सहज र विश्वसनीय रूपमा एकीकृत गरी सम्बन्धित निकायमा पठाउन सक्ने अपेक्षा गरिएको छ ।
सफ्टवेयरले कृषि बाली उत्पादनसम्बन्धी जिल्लागत तथ्यांक, कृषक समूह तथा कृषि सहकारीहरूको विवरण, व्यवसायिक कृषि फर्महरूको जीपीएस समन्वयसहितको अभिलेख, जिल्लास्तरका विषयगत कार्यालयहरूले सम्पादन गरेका कार्यक्रम–क्रियाकलापहरूको प्रगति विवरण तथा सुशासन सम्बन्धी अन्य महत्वपूर्ण विवरणहरू एक स्थानमा व्यवस्थित रूपमा राख्न मद्दत गर्नेछ ।
तालिममा मातहतका १८ वटा कार्यालयका योजना शाखामा कार्यरत प्राविधिक अधिकृतहरूले सक्रिय सहभागिता जनाएका थिए ।


