भद्रपुर, ९ मंसीर । झापाको भद्रपुर नगरपालिकामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भद्रपुरमा समेत शुरु भएको हो । अभियान उद्घाटनको अवसरमा यहाँस्थित मेचीपुलबाट ¥याली निकालिएको छ । विभिन्न नारा लेखिएको ब्यानगरसहित मेचीपुलबाट शुरु भएको ¥याली भद्रपुर बजार हुँदै झापा चोकमा गएर कोण सभामा सम्पन्न भएको थियो ।
कोण सभालाई सम्बोधन गर्नुहुँदै भद्रपुर नगरपालिकाकी उपप्रमुख एवम् नगरको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति संयोजक राधा कार्कीले लैगिंक हिंसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

लैगिंक हिंसा अन्त्यका लागि नगरपालिकाले वर्षैभरि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुहुँदै उपप्रमुख कार्कीले लुकेर रहेका हिंसाका घटनालाई उजागर गरी पीडितलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
विभिन्न संघसंस्थाको आयोजनामा नगरमा १६ दिनसम्म विभिन्न कार्यक्रम गरिने नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । दिवसको अवसरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, महिला हिंसा र कानूनी व्यवस्था सम्बन्धी सचेतना, घरदैलो कार्यक्रम, विद्यालय लक्षित लगायतका कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा भद्रपुर नगर क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सामाजिक शाखाकी कर्मचारी सञ्जु कोइरालाले गर्नुभएको थियो ।

यता, ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।
महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।
यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।
२१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।
महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो ।
जसलाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । यी दिदीबहिनी तत्कालीन त्रुजिलो तानासाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरू पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातानाका बाबजुद यी दिदीबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् ।
यसै क्रममा सन् १९६० मा निरंकुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तिनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरू पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरूलाई मुलुकको ठुलो समस्याका रूपमा घोषणा ग¥यो ।
यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरूको हत्या गरियो । यी दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाका रूपमा लिइयो र यिनीहरूको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् ।
सन् १९९२ मा रुत्गर्स विश्वविद्यालयको महिलाहरूको भूमण्डलीय नेतृत्व केन्द्रले प्रायोजन गरी सञ्चालन गर्न थालेपछि यसले अन्तर्राष्ट्रिय अभियानको रूप लिएको हो । सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउन संयुक्त राष्ट्रसङ्घमा पेस गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रूपमा पारित भएपछि संयुक्त राष्ट्रसङ्घीय प्रणालीका राष्ट्रहरू विश्वव्यापी रूपमा यो अभियानमा सहभागी हुँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ । मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ ।
यस वर्ष ‘महिला तथा बालबालिका विरुद्धको हिंसा रोक्न लगानीमा एकजुट’ अन्तर्राष्ट्रिय नाराका साथ मनाउन लागिएको यस अभियान मनाउने सन्दर्भमा नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरुपमा मनाइँदै छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष १६ दिने अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा व्यापक कार्यक्रम गरी सातै प्रदेशमा प्रदेशस्तरीय विभिन्न जनचेतनामूलक र सन्देशमूलक तथा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


