झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालि उद्योगको कामदार बस्ने दुईतले पक्की घरमा शुक्रबार साँझ आगलागी भएको छ ।
प्रहरीका अनुसार साँझ करिब ६ः४० बजे भुइँ तल्लाको भान्सा कोठाबाट ग्यास लिक भई अचानक आगो लागेको हो । स्थानीयबासीको सहयोगमा करिब ७ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट भान्सा कोठा र त्यससँगै टाँसिएको सुत्ने कोठा पूर्ण रूपमा जलेको छ । साथै, कामदारहरूको नगद रु १ लाख ५० हजार, लत्ताकपडा, तीन थान मोबाइल फोनसहित करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ।
Facebook Comments Box


