झापा, १३ मंसीर । सुर्खेतमा भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । कालिकोटको शुभकालिका–६ हाउडी घर भएका ३४ वर्षीय आचार्य कालिकोटको ताडिस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष थिए ।
उनी सवार लु. ३६ प. ३८८६ नम्बरको स्कुटरलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–२ मा कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल २३ वर्षीय यामबहादुर शाहीले चलाएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पत्रकार आचार्यको निधनप्रति प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल गिरीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


