
बिर्तामोड, ३० पुस । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित हिमाली एजुकेशन फाउण्डेसन माध्यमिक विद्यालयले १९ ओैं बार्षिक उत्सव मनाएको छ ।
फाउण्डेसनले आज विद्यालय परिसरमा विविध कार्यक्रमका साथ आफ्नो १९ औं वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले स्वागत नृत्य, स्वागत गान, वक्तित्व कला, नृत्य, गीत, कविता लगायतका प्रस्तुति दिएका थिए ।

विद्यालयका संस्थापक खड्गराज गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कुँवरको प्रमुख आतिथ्यमा हराएको थियो ।
प्रमुख अतिथि कुँवरले विद्यार्थीले दिएको प्रस्तुतिले नै विद्यालयको शैक्षिक गुणस्तर उच्च रहेको देखाएको बताउनुभयो । “विद्यालयमा क्रमश: कक्षा वृद्धि भइरहेकाले पनि विद्यालयप्रति अभिभावकको विश्वास बढेको देखिन्छ”, प्रमुख अतिथि कुँवरले भन्नुभयो, “विद्यालयको थप प्रगतिको कामना गर्दछ ।”

विद्यालयकी प्रिन्सिपल शान्ता गिरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यार्थी मनिष बुढाथोकी, शिक्षक बासुदेव बराल, विद्यार्थी अवशेष न्यौपाने र परिधि चौहानले विभिन्न चरणमा गर्नुभएको थियो ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रूपमा यस वर्ष शिक्षिका मनिला शेर्मालाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा प्याब्सन अर्जुनधारा नगर अध्यक्ष बालगोपाल गौतम, बिर्तामोड खानेपानीका सचिव पारषमणी मैनाली लगायतको आतिथ्य रहेको थियो ।
विद्यालयमा हाल कक्षा-९ सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा क्रमश: कक्षा वृद्धि गर्दै लगिएको संस्थापक खड्ग गिरीले जानकारी दिनुभयो । विद्यालयमा हाल ३८० जना विद्यार्थी रहेका छन् भने ३५ जना शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

