
झापा, १४ माघ । बाराको परवानीपुरमा अज्ञात व्यक्तिको आक्रमणबाट दुई जनाको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मंगलबार राति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइते उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
राति १२ बजेपछि घटना भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । ‘अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको छ । ससुराबुहारी घाइते अवस्थामा छन्’, उहाँले भन्नुभयो, ‘हामी हत्याराको खोजी र घटनाको थप अनुसन्धानको क्रममा छौँ ।’ प्रहरीले अपराधीको खोजी कार्य तीव्र बनाएको प्रनाउ पाण्डितले बताउनुभयो ।


