
नेपाली नारीहरुको हरितालिका तीज नजिकिएसँगै इलामको माइजोगमाईकी संगीता भण्डारीको ‘रानीहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
तीजको मौलिक्ता समेटेर तयार गरिएको गीतको म्यूजिक भिडियो ‘रानीहार’ डुस म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
गीतकार डिपी खनालको शब्द, शंकर थापाको संगीत, केशबराज भट्टको निर्देशनमा तयार भएको गीतमा नव गायीका भण्डारीको स्वर रहेको छ । गीतको संगीत संयोजन विषम आचार्यले गर्नु भएको छ ।
‘रानीहार’को म्युजिक भिडियोमा गायिक भण्डारीसँगै यासु भट्टराई र मिलासा वाग्लेको अभिनय रहेको छ । विशाल थापालले छायाङ्कन गर्नुभएको भिडियोमा सरोज बुढाथोकीले मेकअप तथा दीपक विष्टले भिडियोको सम्पादन तथा कलर गर्नु भएको छ । नृत्यतर्फ श्याम पटेलको सहकार्य रहेको गायिका भण्डारीले जानकारी दिनुभयो ।
गायिका भण्डारीले ‘रानीहार’ २२ बर्ष पछि निकालिएको गीत भएको बताउनु भयो । उहाँ २२ वर्ष अघि काठमाडौंमा संगीत सिक्नुका साथै म्यूजिक फिल्डमा सक्रिय रहनु भएको थियो ।
पछिल्लो समय भारतको सिलिगुडी बस्दै आउनुभएकी गायीकाले चार वर्षअघि गायक स्वरूपराज आचार्यसँग गाएको गीत सार्वजनिक गर्नु भएको थियो । उहाका अन्य गीतको भिडियो निर्माणको काम भैरहेको छ भने तीज लगतै ती गीत सार्वजनिक गरिने छन ।
इलामको माईजोगमाई १ शंकाबुङ निवासी भण्डारी संचार क्षेत्रमा समेत सक्रिय रहनु भएको छ । उहाले भारतको केएटिएच एफएम र दर्बी इन्टरनेसनल एफएममा लामो समय प्रस्तोताको रुपमा काम गर्नु भएको थियो । भण्डारी सञ्चारसँगै गायन क्षेत्रमा पनि आफनो पहिचान बनाउने तयारीमा रहनुभएको छ ।


