
झापा, २० माघ । सातौं झापा गोल्डकपको उद्घाटका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ ।
डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २४ गते गोल्डकपको उद्घाटनका दिन डोमालाल राजवंशी रंगशालामा अनावरण गरिने भएको हो । गोल्डकपका तत्कालीन अध्यक्ष स्वर्गीय विनोद बस्नेतले सो सालिक भारतबाट निर्माण गरेर ल्याएका थिए ।

बस्नेतको निधनपछि डोमालालको सालिक स्थापित गर्ने र असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीका घर बनाइदिने योजना अलपत्र परेको थियो ।
गोल्डकपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, मोरङका जिल्ला सचिव रुपेश राजवंशीबीच छलफल भएको थियो ।
छलफलमा जग्गा विवादका कारण डोमालाल राजवंशी रंगशाला सार्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि अस्थायी रुपमै भए पनि सालिकलाई अनावरण गर्ने सहमति भएको छ ।
पूर्व अध्यक्ष स्व. बिनोद बस्नेतको सपना साकार पार्न गोल्डकपपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने अध्यक्ष गिरीले जानकारी दिए । स्व. बस्नेतले घर बनाइदिनका लागि सामाजिक संजालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका थिए । त्यस अभियानलाई निरन्तरता दिने गिरीको भनाइ छ ।
डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिब १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति, नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।

