
दमक, २१ माघ । आज दिउँसो झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र।१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए । दुवै जना इलाम चुलाचुली गाउँपालिका–४ बसोबास गर्ने हुन् ।
घाइते अवस्थामै दमक अस्पतालमा उपचारका लागि पठाइएका उनीहरूलाई उपचारको क्रममा सोही दिन दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर चालक उदयपुर त्रियुगा नगरपालिका–९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेको छ । दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुवै मृतकको शव तत्काल दमक अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


