
झापा, २१ माघ । झापाको शिवसताक्षी नगरपालिका–१० रतुवामाई वृक्षरोपण आयोजना कम्पाट नम्बर १ माईधार क्षेत्रमा अवैध रूपमा गोलिया काठ चोरी गरी लैजाने क्रममा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
गोप्य सूचनाको आधारमा रतुवामाई वृक्षरोपण वन आयोजनाका कर्मचारी तथा अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको संयुक्त टोलीले टिक (रङ) जातको गोलिया काठ ६ वटा टुना, करिब १५ क्यूवि बराबर, दुईवटा साइकलबाट लोड गर्दै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका–७ बैङडाडाका ३२ वर्षीय प्रकाश योङहाङलाई पक्राउ गरेको हो ।
उनको साथबाट बरामद गरिएको गोलिया काठ र दुईवटा साइकल आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।


