
झापा, २१ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले जारी गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुसार आजदेखि कोशी प्रदेशका सबै जिल्लामा सेना परिचालन गरिएको हो ।
पूर्वी प्रितना हेडक्वाटर इटहरीकी जनसम्पर्क अधिकृत क्याप्टेन सुष्मा सुब्बाले गृह मन्त्रालयबाट प्रेषित योजनाअनुसार नेपाली सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै नागरिक प्रशासनलाई सहयोग पुर्याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिने, मतदाताको निर्वाध आवागमन सुनिश्चित गर्ने तथा निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनिकरण गर्ने जिम्मेवारी पाए अनुरुप कामकारबाही अघि बढाइएको जानकारी दिनुभयो ।

निर्वाचनको एक महिना अगावैदेखि सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेनाले सबै जिल्लामा अस्थायी बेस स्थापना गरी सैनिक गस्ती तथा आवश्यकता अनुसार संयुक्त गस्ती सञ्चालन गर्ने उहाँले बताउनुभयो । साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य निकायसँग समन्वय गर्दै विमानस्थल, कारागार लगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि सेनाले लिनेछ ।
निर्वाचन अवधिमा शान्ति–सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई सबै सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।



