
झापा, २२ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार खर्चलाई पारदर्शी र अनुशासित बनाउन ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता कार्यविधि, २०८२’ स्वीकृत गरेको छ।
नयाँ कार्यविधिअनुसार राजनीतिक दल र उम्मेदवारले प्रचार खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। रु २५ हजारभन्दा बढी सहयोग नगदमा लिन पाइने छैन, सो रकम सीधै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। पुराना खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ।

त्यस्तै, रु १ लाखभन्दा बढी सहयोगमा सहयोगदाताको नाम, ठेगाना, पेशा, कर विवरण खुलाउन अनिवार्य गरिएको छ। निषेधित निकाय वा व्यक्तिबाट सहयोग लिन पूर्ण प्रतिबन्ध लगाइएको छ।
निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले खर्च विवरण सार्वजनिक गरी ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ। खाता विवरण भने ६ वर्षसम्म सुरक्षित राखिनेछ।
अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुखलाई दिइएको छ। आयोगले यस कार्यविधिबाट अपारदर्शी लेनदेन, नगद खर्च र निषेधित सहयोग रोक्ने उद्देश्य राखेको जनाएको छ।

