झापा, २७ कात्तिक । झापा जिल्ला अदालतका सूचना अधिकारीको जिम्मेवारीमा रहेका शाखा अधिकृत रामचन्द्र बस्नेतको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।
सूचना अधिकारीका रूपमा कार्यरत बस्नेतले सरोकारवालाले माग गरेका न्यायिक तथा कानुनी क्षेत्रसँग सम्बन्धित सार्वजनिक महत्त्वका सूचना र जानकारी समयमै उपलब्ध गराउने जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।


बस्नेत नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (हाल खारेज भएको ट्रेड युनियन) झापाका निवर्तमान अध्यक्षसमेत हुन् । संविधान र सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नागरिकलाई सार्वजनिक निकायसँग सार्वजनिक महत्त्वका सूचना माग्ने र प्राप्त गर्ने अधिकार दिएको छ । ऐनअनुसार प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट सम्पादन हुने कामकारबाहीबारे जानकारी दिन सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक महत्त्वका न्यायिक सूचना माग्दा सहज रूपमा प्राप्त गर्न नसकिने, गोप्य राखिने वा सूचना प्राप्त गर्ने प्रक्रिया ढिलो र झन्झटिलो हुनेजस्ता गुनासो आउन नदिन सूचना अधिकारी सूचनामैत्री, कानुनबारे जानकार र सेवाग्राहीप्रति सहयोगी हुनुपर्ने देखिन्छ ।


