झापा, २७ कात्तिक । देउसीभैलो कार्यक्रमका नाममा सार्वजनिक रूपमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।
तिहारको अवसरमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको छ ।



