झापा, २७ कात्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहान हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।



