झापा, २७ कात्तिक । दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा परिचित छठका अवसरमा मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।

पर्वको तयारीस्वरूप स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । घरका भित्ता लिपपोत र रङरोगन गर्ने, सडक तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ ।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पर्वकेन्द्रित बनेको छ । भेटघाटदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३, बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो ।
मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।
त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ । माटोबाट बनाइने दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायतका भाँडाको मागसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको कारोबार बढेको हो ।
घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि सुरु भएको छ । ठकुवा र भुसुवासहितका परिकार बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने गरिन्छ ।
भङ्गाहा–४, रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो ।
मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने चलनले सामाजिक सद्भाव र एकताको सन्देश दिने गरेको छ ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले परिवारको सुख, शान्ति, समृद्धि र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।



