झापा, २६ कार्तिक । बिहीबार बिहान नेपाल–भारत सीमा क्षेत्र नजिक ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारतको उत्तरी बंगाल, सिक्किमलगायत आसपासका क्षेत्रमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार नोभेम्बर १२ अर्थात् बिहीबार बिहान ४ बजेर ३० मिनेट २९ सेकेन्ड (भारतीय समय) मा भूकम्प गएको हो । नेपाली समयअनुसार बिहान ४ बजेर १५ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु नेपालमा पर्ने स्थानमा रहेको र सिक्किमको युक्सोमबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा रहेको जनाइएको छ ।

भूकम्पको गहिराइ ७३ किलोमिटर मापन गरिएको छ । यसको केन्द्रबिन्दु २७.६७१ डिग्री उत्तरी अक्षांश र ८७.९८७ डिग्री पूर्वी देशान्तरमा रहेको भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
भारतको टिभी–९ बङ्गलाले जलपाइगुडीसहित उत्तरी बंगालका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जनाएको छ । बिहानको समयमा धेरै मानिस सुतिरहेका कारण कतिपयले कम्पन थाहा नपाएको समाचारमा उल्लेख छ ।
भूकम्पको धक्का झापाको बिर्तामोडलगायत पूर्वी नेपालका विभिन्न स्थानमा महसुस भएको हो वा होइन भन्नेबारे आधिकारिक पुष्टि तथा विवरण प्राप्त हुन बाँकी छ ।
भूकम्पबाट भएको सम्भावित क्षति तथा मानवीय प्रभावबारे पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।
स्रोतहरू :



