झापा, २६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्ती नेपालतर्फ प्रवेश गर्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
भारतबाट नेपाल प्रवेश गरेका हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने तथा पाकेको धानबालीमा क्षति पुर्याउन थालेपछि हात्तीलाई नेपाल प्रवेश गर्न नदिन बुधबारदेखि सुरक्षा निगरानी कडा पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

हात्तीको प्रवेश रोक्न तथा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल, बाहुनडाँगीस्थित बीओपी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसान परिचालन गरिएको छ ।
सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीय बासिन्दाले विभिन्न उपकरण तथा सवारीसाधन प्रयोग गरी सीमावर्ती क्षेत्रमा निगरानी र रोकथामको काम गरिरहेका छन् ।
हात्ती नियन्त्रण तथा धपाउन १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरीका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक–एकवटा साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन प्रयोग गरिएको छ । यसका अतिरिक्त ९० भन्दा बढी ठूला लाइटसमेत परिचालन गरिएको छ ।
त्यसैगरी, गस्ती तथा निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर र १० भन्दा बढी मोटरसाइकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
हात्तीको आवागमनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।



