
झापा, २८ माघ । झापाको भद्रपुरमा आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम र आयोजक भद्रपुर क्रिकेट क्लव भिड्ने भएका छन् ।
भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो भने दोस्रो सेमिफाइनलमा आयोजक भद्रपुरले भारतको ग्लोबल स्टार लखनउलाई २० रनले पराजित गरेपछि बिहीबार हुने फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । बलरलाई साथ दिएको पिचमा डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए तपनकुमार शर्मा र प्राञ्जल भारालीले समान २–२ तथा निहार डेका र निबिर डेकाले १–१ विकेट लिए । ब्याटिङमा डडेल्धुराका दिपक बोहोराले ३१ बलमा ४० रन बनाए भने आशिष लुहारले २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
जवाफमा आसामको सुरुआत पनि राम्रो हुन सकेन । १२ रनको स्कोर हुँदा ४ विकेट गुमाइसकेको आसामले अन्तिम ओभरमा मात्र जीत हासिल गर्यो । आसामले १९.२ ओभरमा ८ विकेट क्षतिमा ९५ रन बनाएर जीत हासिल गरेको हो ।
ब्याटिङमा आसामका तर्फबाट गोकुल शर्मा र स्वस्तिक क्षेत्रीले समान ३२ रनको योगदान दिए । बलिङमा डडेल्धुराका तर्फबाट अजय चौहानले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।
बलिङ र ब्याटिङ, दुबैमा चम्किएका गोकुल शर्मा म्यान अफ द म्याच भए । उनले नगद ११ हजारसहित ट्रफी प्राप्त गरे । उनलाई भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्यान अफ द म्याच पुरस्कार प्रदान गरे ।
दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनको मध्यम स्कोर बनाए पनि जीतका लागि पर्याप्त बन्यो । भद्रपुरले लखनउलाई १०३ रनमा रोक्यो । लखनउले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनायो ।
ब्याटिङतर्फ भद्रपुरका सुजन थपलियाले सर्वाधिक १९ रनको योगदान दिए भने लखनउका तर्फबाट मञ्जुल दुबेले २७ रनको योगदान दिए । बलिङमा भद्रपुरका भुवन कार्कीले ४ ओभरमा २२ रन दिएर सर्वाधिक ३ विकेट लिए भने लखनउका चक्रधर द्विवेदीले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाखसहित शील्ड प्राप्त गर्ने प्रतियोगिताका संयोजक गौरब सुब्बा ‘मनोज’ले जानकारी दिए ।

