
झापा, २९ माघ । झापामा आजदेखि हाडजोर्नी चिकित्सकहरुको वृहत सम्मेलन ‘अर्थोकोन–२०२६’ हुँदैछ ।
नेपाल अर्थोपेडिक एशोसिएसनको ३१ औं वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भुटान, बंगलादेश लगायत मुलुकका पाँच सयभन्दा बढी हाडजोर्नी चिकित्कसहरुको वृहत सम्मेलन हुने भएको हो ।

अर्थोकोन–२०२६ आयोजक समितिका अध्यक्ष डाक्टर लक्ष्मी मैनालीले एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सक तथा नेपालका चार सयभन्दा बढी हाडजोर्नी चिकित्सकहरुको वृहत सहभागिता रहने बताउनुभयो ।
“शिक्षा, नवप्रवर्तन र सहयोग भन्ने मूल नारालाई आत्मसात गरेर हाडजोर्नीका विज्ञ चिकित्कसहरुको सहभागितामा झापामै पहिलो पटक यो कार्यक्रम गर्दैछौं”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले यहाँको स्वास्थ्य पर्यटनलाई समेत प्रबद्र्धन गर्नुका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ ।”
आजदेखि फागुन ४ गतेसम्म हुने अर्थोकोन–२०२६ मा हाडजोर्नी सम्बन्धी नयाँ, पुराना र दिग्गज चिकित्सकहरुको सहभागिता रहने डा. प्रेमबहादुर साहीले बताउनुभयो । “कार्यक्रमबाट नयाँ र युवा डाक्टरहरुले सिक्ने अवसर पाउनुहुनेछ”, उहाँले भन्नुभयो, “हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरुले नवप्रवद्र्धन गर्नुका तीन वटा प्रविधि÷ उपकरण प्रदर्शनी गरिनेछ ।”
डा. निराजन पराजुलीले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम फलदायी हुने बताउनुभयो । “साइन्टिफिक कोर्सहरु हुनेछ”, उहाँले भन्नुभयो, “विभिन्न चिकित्कसहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।”
नेपालका डाक्टरहरु चिकित्सा प्रविधि नयाँ–नयाँ आविष्कार गर्न सक्षम भइसकेको डा. नागमणि सिंहले बताउनुभयो । “हाडजोर्नीको चिकित्सा क्षेत्रमा गुणस्तरीय नवप्रवर्तन नेपाली डाक्टरले गर्नुभएको छ”, उहाँले भन्नुभयो, “नेपालीले प्रयोग गर्न सक्ने त्यस्ता प्रविधिको प्रदर्शन पनि गर्न लागिएको छ ।”
कार्यक्रमका लागि कोशी प्रदेश सरकारले पाँच लाख उपलब्ध गराउने भएको छ भने विभिन्न संघसंस्थाले सहयोग गर्ने भएका छन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल गर्नुहुने आयोजक समितिका महासचिव डा. रुपेश जंग बेलबासेले जानकारी दिनुभयो ।

