
झापा, १ फागुन । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिनकुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित रंगेली–७ स्थितबाट पक्राउ गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी–२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधि ८० चक्कीसहित, अस्थायी प्रहरी पोष्ट बस पार्क इनरुवाले इटहरी–१८ का २४ वर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान–५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी–५ बाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

