
झापा, २७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सकिँदा ५१ दलले संसद्मा प्रवेशका लागि आवश्यक न्यूनतम मत सीमा (थ्रेस होल्ड) कटाउन सकेका छैनन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा संयुक्त निर्वाचन चिह्नसहित ५७ दलले भाग लिएका थिए। तीमध्ये केवल ६ दलले तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरी संसद्मा प्रवेश गर्ने अवस्था बनेको छ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मतसहित अग्रता हासिल गरेको छ। नेपाली काँग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा एमालेले १४ लाख चार हजार ८५४, नेकपाले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्। यी बाहेक अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।
जनमत समाजवादी पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले न्यूनतम सीमा कटाउन नसकेका आयोगले जनाएको छ। धेरै दलले हजारौँ मात्र मत पाएका छन् भने केही दलले दुई हजारभन्दा कम मत प्राप्त गरेका छन्।
निर्वाचन कानुनअनुसार समानुपातिक प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दललाई मात्र सिट बाँडफाँट हुन्छ। थ्रेस होल्ड नकटाउने दलको धरौटी जफत हुने व्यवस्था छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार समानुपातिकतर्फ तीन प्रतिशत मत वा प्रत्यक्षतर्फ कम्तीमा एक सिट प्राप्त गर्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता प्राप्त हुन्छ।

