
काठमाडौँ, २७ फागुन । बाह्र दिनदेखि रोकिएको पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन्।

अमेरिका–इरान युद्ध सुरु भएपछि फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै पश्चिम एसियातर्फको हवाई उडान बन्द गरिएको थियो। त्यसपछि नेपालबाट हुने कतिपय अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। युद्धको प्रभाव स्वरूप युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गरेका थिए।
प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएको जानकारी दिए। “उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ,” उनले भने, “आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन्।”
त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईतर्फ चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ। एयरलाइन्सका अनुसार दैनिक करिब १०० यात्रु उपस्थित हुने गरेका छन्।

