
भद्रपुर, ३१ जेठ । झापाको भद्रपुर–२ स्थित नृत्यालय स्कूल अफ्् डान्सको आयोजनामा भएको ‘शुद्ध नृत्य युद्ध’को उपाधि भद्रपुरकी ओमालिसा मेचेले हात पारेकी छन् ।
प्रतियोगिता अन्तरगत शनिबार टप टेन प्रतियोगी बीच भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ओमालिसाले उपाधि उचालेकी हुन् । उपाधिसँगै उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेकी छन् ।

फिनाले राउण्डमा बिर्तामोडकी स्रष्टा राउत फस्र्ट रनर–अप र हल्दिबारीकी सन्दिपा नेम्बाङ सेकेण्ड रनर–अप भएकी छन् । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ र ट्रफी पाएका छन् । अन्य सात प्रतिस्पर्धी सलिन मगर, खुसाङ तामाङ, दृशा रिजाल, अर्पण घिमिरे, सेमिहाङ्मा लिम्बू, सुजाता भट्टराई र रुस्ना कन्दङवालाई सान्त्वना भएका छन् । उनीहरुले समेत ट्रफी, मेडल, प्रमाण–पत्रसहित तीन महिनाको डान्स स्कलरशिप पाएको नृत्यालयकी म्यानेजिङ–डाइरेक्टर सुस्मिता राईले बताइन् ।

पुरस्कृत र सहभागी सबैलाई भद्रपुरका नगर–प्रमुख गणेश पोखरेल, वडाध्यक्ष राम कँडेल, सामाजिक व्यक्तित्व शिवराज भण्डारी, ज्ञान सरोवर स्कूलका प्रिन्सिपल कृष्णराज पौडेल, कार्कीज क्याफेका सञ्चालक विकास थापा, ग्रीनफिल्ड स्कूलका प्रिन्सिपल सन्देश राई, होलिल्याण्ड स्कूलकी ललिता राई, ज्ञान सरोवर स्कूलका भाइस प्रिन्सिपल राजेश क्षेत्री लगायतले पुरस्कार तथा ट्रफी, मेडल हस्तान्तरण गरेका थिए ।
ग्राण्ड फिनालेमा विभिन्न नृत्य विधाका ज्ञाता मनिष कटवाल, एसपी मगर, शिव मोक्तान र सोममाया तामाङले निर्णायक भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा रहेका प्रतिभाहरूको पहिचान गरी उनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रथम पुरस्कार राशि र ट्रफी कार्कीज क्याफेका सञ्चालक विकास थापाले, दोस्रो पुरस्कारको सौजन्य ज्ञानसरोवर निकेतन र तेस्रो पुरस्कारको प्रायोजन आर्ट इभेन्ट मेनेज्मेन्टका रोहन तामाङले गरेको सञ्चालक एवम् कार्यक्रम संयोजक सक्षम तामाङले जानकारी दिए ।
सो प्रतियोगिता आयोजनामा यहाँको सगरमाथा डाँडास्थित मार्ट ओरियन डिपार्टमेन्ट स्टोरले १० जना प्रतिस्पर्धीलाई गिफ्ट ह्याम्पर प्रदान गर्नुका साथै ग्रीनफिल्ड इंग्लिश स्कूलका फाउण्डर–प्रिन्सिपल सन्देश राई सहित विभिन्न व्यक्ति एवम् संघ–संस्थाबाट सहयोग प्राप्त भएको पनि आयोजकले जनाएको छ ।


